सिरहामा ९ जना १०३ किलो गाँजासहित पक्राउ

जनजागरण संवादाता / चन्द्रशेखर यादव

सिरहा १७ शनिबार — सिरहाको औरही गाउँपालिका-४ कमलपुरबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजासहित नौ जनालाई नियन्त्रणमा लिएको छ। शनिबार बिहान भएको विशेष अपरेशनमा प्रहरीले १०३ किलो गाँजा बरामद गर्दै उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका-१ मुक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति सदा रहेका छन्।
त्यसैगरी, सोही ठाउँका ३२ वर्षीय जीवछ साह, औरही गाउँपालिका-३ का ४२ वर्षीय राजेन्द्र यादव, भारतको मधुवनी जिल्लास्थित कुमरखद ग्राम पञ्चायत-१४ का ३९ वर्षीय वैजनाथ चौधरी र ३० वर्षीय रमेश कामत पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूको साथबाट पाँचवटा बोरामा राखिएको १०३ किलो गाँजा बरामद गरेको जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको र संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिएका छन्।

प्रहरीले यसलाई लागुऔषध कारोबारसँग जोडिएको संगठित अपराधको आशंका गर्दै अनुसन्धानलाई व्यापक बनाएको छ। पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ