जनजागरण संवादाता / रामशंकर यादव
सिरहा ११ नवराजपुर | स्थानीय तहमा भाषा, शिक्षा र समावेशीतालाई प्रोत्साहन गर्ने क्रममा नवराजपुर गाउँपालिकाले ऐतिहासिक कार्य गर्दै सामुदायिक विद्यालयहरूमा स्थानीय मैथिली भाषामा आधारित “हमर नवराजपुर” नामक पाठ्यपुस्तक कक्षा १ देखि ३ सम्मका लागि लागू गरेको छ।

गाउँपालिकाका निर्भीक, दूरदर्शी तथा युवा अध्यक्ष शिव उदगार यादवको कुशल नेतृत्वमा यो नवीन कार्य सम्पन्न भएको हो। गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा लागू गरिने गरी प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहद्वारा एक विशेष कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापकहरूलाई औपचारिक रूपमा पुस्तक हस्तान्तरण गरिएको हो।
अध्यक्ष यादवले शिक्षा प्रणालीलाई स्थानीय भाषासँग जोड्ने मात्र नभई सामाजिक समावेशिता र पहिचान संरक्षणतर्फ समेत योगदान पुर्याउने उद्देश्यसहित यो अभियान अगाडि सारेका हुन्। सीमावर्ती क्षेत्रका ग्रामीण भेगमा शिक्षा पहुँच, शैक्षिक गुणस्तर र मातृभाषाको सम्मानलाई समेट्दै यो कार्यक्रम उदाहरणीय बन्न पुगेको स्थानीयवासीहरू बताउँछन्।
यसअघि पनि नवराजपुर गाउँपालिका सार्वजनिक सम्पत्ति संरक्षण, सुशासन प्रवर्द्धन, भौतिक पूर्वाधार निर्माण, युवा तथा किसान लक्षित कार्यक्रम, महिला र उपेक्षित वर्गको हकहितका क्षेत्रमा सक्रिय हुँदै आएको छ।
अध्यक्ष यादवको निरन्तर प्रयास र स्पष्ट दृष्टिकोणका कारण गाउँपालिका सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमै जिल्लाको अग्रणी स्थानीय तहका रूपमा स्थापित हुँदै गएको छ।
नवीनतम कार्य “हमर नवराजपुर” पाठ्यपुस्तकले बालबालिकालाई आफ्नै भाषा र परिवेशमा शिक्षित गराउने माध्यम बनेको छ, जसले उनीहरूको बौद्धिक र भाषिक विकासमा टेवा पुर्याउनेछ।

