जनजागरण संवादाता / रामशंकर यादव
सिरहा १८ चैत्र -लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. २ पोखरभिन्डा पर्सा स्थित श्री जनता डोमि चौधरी माध्यमिक (प्राविधिक) विद्यालयमा यसै शैक्षिक सत्र २०८२ को वैशाख महिनादेखि ओसीडी (बाल विकास) देखि कक्षा ८ सम्म अंग्रेजी माध्यमका कक्षा सञ्चालनमा आएका छन्।
सिरहा जिल्लाकै नमूना विद्यालयका रूपमा परिचित यस विद्यालयमा पहिलेदेखि नै दक्ष र अनुभवी शिक्षक, शिक्षिकाहरुको सक्रियतामा अध्यापन हुँदै आएको छ। साथै, यस विद्यालयमा शिक्षण प्रक्रिया डिजिटल प्रविधिमार्फत सञ्चालन भइरहेको छ, जसले विद्यार्थीलाई आधुनिक शिक्षण पद्धतिबाट लाभान्वित बनाउँदै आएको छ।

कक्षा ९ देखि १२ सम्म डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयमा अध्यापन हुँदै आएको यस विद्यालयमा, प्लस टु तहमा पनि विज्ञान, मानविकी, शिक्षा र कम्प्युटर जस्ता विषयहरूमा अध्ययन-अध्यापन भइ रहेको विद्यालयका निमित्त प्रधानाध्यापक तार्नी प्रसाद चौधरीले जानकारी गराउनुभयो।
अंग्रेजी माध्यममा सञ्चालन हुने कक्षाहरूको सम्पूर्ण व्यवस्थापन तथा पूर्वाधार तयार भइसकेको र अहिले विद्यार्थीहरू धमाधम भर्ना भइरहेको विद्यालयले जनाएको छ। अंग्रेजी माध्यम कार्यक्रमका संयोजक तथा माध्यमिक तहका शिक्षक राजाराम यादवले अभिभावकहरूलाई आफ्ना नानी–बाबुहरूलाई अंग्रेजी माध्यममा भर्ना गराउन हार्दिक अनुरोध समेत गर्नुभएको छ।
विद्यालयले प्राविधिक तथा गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आधुनिक शिक्षण पद्धतिहरूलाई अंगाल्दै आइरहेको छ, जसले आगामी दिनमा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ।

