कलैया, २४ पौष – बारा जिल्लास्थित कलैया अस्पतालमा आफन्तहरूले बिरामीलाई स्टेचरमा राखेर X-ray गराउन घिसार्दै लगेको दृश्य अत्यन्तै दुःखद् र चिन्ताजनक बन्यो। अस्पतालको डिजिटल X-ray मेसिन प्राविधिक समस्याका कारण बिग्रिएपछि बिरामीलाई अत्यधिक दु:ख भोग्नुपरेको छ। यस घटनाले प्रदेश सरकारको स्वास्थ्य सेवाप्रति गम्भीर लापरवाही र असंवेदनशीलतालाई उजागर गरेको छ।
यस घटनाको पछिल्लो अवस्थालाई लिएर अस्पतालका कर्मचारीहरूले भने, “डिजिटल X-ray मेसिन बिग्रिएपछि हामीलाई पुरानो मेशिनबाट काम चलाउन अत्यन्तै गाह्रो भएको छ, र अहिले मेसिनको मर्मतका लागि कुनै ठोस कदम नचालिएको छ।” अहिले जनतालाई धेरै परेसानी भोग्नुपरेको छ भने, प्रदेश सरकारले यसका लागि जिम्मेवार रही समस्या समाधानको प्रक्रिया शुरु नगरेको आरोप समेत उठिरहेको छ।

यस समस्याले अस्पतालका सेवा सुविधामा पनि गम्भीर असर पुर्याएको छ। जाडोको मौसममा विशेष गरी मधेशका जनजीवन प्रभावित भइरहेका बेला स्वास्थ्य सेवामा यस किसिमको विघटन स्वास्थ्य मन्त्रालयको कत्तिको चासो रहेको भन्ने कुरा पनि बहसको विषय बनिरहेको छ।
प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले स्वास्थ्य क्षेत्रमा सुधारका लागि ठूलो प्रतिबद्धता जनाए पनि, हालका घटनाले यस दावीलाई शंका युक्त बनाएको छ। डिजिटल X-ray मेसिनको मर्मत र प्रदेश सरकारको मूकदर्शक स्थितिलाई लिएर जनता र स्वास्थ्यकर्मीहरू बीच निराशा फैलिएको छ।

यसका साथै, प्रदेश सरकारले भने विभिन्न विज्ञप्ति र सिल्यानस निकाल्नमा व्यस्त रहेका बेला यसप्रकारका गम्भीर स्वास्थ्य सेवा संकटको समाधानमा कुनै ध्यान नदिएको बोध भइरहेको छ। यस परिप्रेक्ष्यमा, समग्र स्वास्थ्य सेवामा सुधारको खाँचो र तत्काल कार्यवाहीको माग नागरिक समाज र अस्पतालका कर्मचारीहरूले एकसाथ उठाएका छन्।

