काठमाण्डौ आइपुगे बलिउड्का चर्चित अभिनेता नवाजुद्दिन।

काठमाण्डौ २२ भदाै / बलिउडका चर्चित अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आइपुगेका छन् । नेपाली फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन उनी शनिबार दिउँसो काठमाडौंमा अवतरण गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बित्तिकै उनी सेल्फी खिच्ने र अटोग्राफ लिने फ्यानहरुबाट घेरिएका थिए । उनी बलिउडमा निकै चर्चित छन् । उनको शान्त क्यारेक्टर र जादूमयी अभिनयले जो कोहीलाई आकर्षण गर्छ । उनका कैयौं फिल्म हिट छन् । नेपालमा पनि उनका हजारौं फ्यान छन् ।

मीनबहादुर भामको निर्देशनमा बनेको फिल्म ‘शाम्बाला’को नेपाल प्रिमियर भदौ २३ अर्थात् आइतबार काठमाडौँमा हुँदैछ । चलचित्र टोलीका अनुसार निर्देशक भाम र नवाजुद्दीनको पहिलो भेट बर्लिन फिल्म फेस्टिभलमा भएको थियो । त्यहाँ नवाजुद्दिनले ‘शाम्बाला’ हेरेका थिए र नेपालमा पनि प्रिमियर हेर्ने इच्छा व्यक्त गरेका थिए। सोहीअनुसार उनी आज नेपाल आइपुगेका हुन् । उनले नेपाली फिल्ममा काम गर्ने इच्छा पनि देखाएका छन् । हुन त उनी नयाँ निर्देशक र नयाँ निर्मातासँग काम गर्न रूचाउँछन्।

‘शम्बाला’ बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म बनेको थियो। फिल्ममा हिमाली भेगकी गर्भवती महिलाले ल्हास्सामा हराएको श्रीमान खोज्दाको कथा समेटिएको छ। हालै, यस फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन्। फिल्म नेपालमा भदौ २८ देखि प्रदर्शनमा आउँदैछ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ