काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले भैरहवा र महेन्द्रनगर हवाई रुटलाई दुईतर्फी बनाउन भारत सरकार सकारात्मक भएको बताएकी छन् । काठमाडौंबाट भरतपुर–महेन्द्रनगर हुँदै दिल्ली जाने अन्तर्राष्ट्रिय वायुयानहरूको हवाई रुट ‘लिमा–६२६’ लाई दुईतर्फी बनाउन भारत सकारात्मक देखिएको परराष्ट्रमन्त्री राणाले बताएकी हुन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिनाअघि भारत भ्रमणका क्रममा उक्त प्रस्ताव राखेकामा भारतले बेवास्ता गरेको थियो । तर अहिले आफ्नो भ्रमणका क्रममा भारत दुईतर्फी अन्तर्राष्ट्रिय हवाई रुट दिन तयार देखिएकाे परराष्ट्रमन्त्री राणाले बताएकी हुन् ।
कांग्रेस र एमाले सम्मिलित नयाँ सरकार गठनपछि परराष्ट्रमन्त्री राणा भदौ २ मा पाँचदिने भ्रमणका क्रममा भारत गएकी थिइन् । त्यहाँ रहँदा भारतीय प्रधानमन्त्री र आफ्नो समकक्षीसँगको छुट्टाछुट्टै भेटमा राणाले हवाई रुटको विषयलाई प्राथमिकतासाथ उठाएर छलफल गरेको जानकारी दिइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँगको भेटमा नेपाललाई थप हवाई रुट दिने सम्बन्धमा सकारात्मक कुराकानी भएको पनि परराष्ट्रमन्त्री राणाले बताइन् ।

‘मैले हवाई रुटको पनि कुरा गरें, पर्यटन विकासका लागि हामीलाई यो अत्यावश्यक छ । अहिले हामीसँग सिमराबाट प्रवेश गर्ने एकमात्र हवाई रुट छ । यसमा अत्यधिक चाप हुने र यो रुट भारतीय आकाशमाथि निर्भर हुने भएकाले थप दुई वटा नेपाल छिर्ने हवाई रुट चाहियो, महेन्द्रनगर र अर्को लखनउ हुँदै भैरहवामाथिको आकाशबाट नेपाल छिर्ने हवाई रुट ब्राभो–३४५ लाई दुईतर्फी बनाइदिन प्रस्ताव गरेको छु,’ राणाले कान्तिपुरसँग भनिन्, ‘यसमा भारत सरकार सकारात्मक छ ।’
यसअघि २०८० जेठ १७ देखि २० सम्म भएको प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने भारत भ्रमणका क्रममा नेपालले काठमाडौंबाट भरतपुर–महेन्द्रनगर हुँदै निस्किने अन्तर्राष्ट्रिय हवाई रुट ‘लिमा–६२६’ लाई दुईतर्फी बनाउन प्रस्ताव गरेको थियो । तत्कालीन प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार भारत हुँदै नेपाल आउने खाडी मुलुकका जहाजलाई महेन्द्रनगरबाट नेपाल प्रवेश गराउने विषयमा भारत त्यसताका सहमत भएको थिएन ।
भारतले यो रुटलाई दुईतर्फी नबनाउँदा खाडीबाट दिल्ली हुँदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय विमान सिमरा पुगेर भरतपुर हुँदै भैरहवामा अवतरण हुन्थे । यसरी सिमरामा आई जहाजले फन्को लगाउँदा २०–२५ मिनेट बढी समय लाग्ने र इन्धन खर्च हुँदा यसको व्ययभार यात्रुलाई पर्ने गरेको छ । ३५ अर्ब ६६ करोड रुपैयाँ लगानीमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुट सटीक नभएका कारण पनि विदेशी वायुसेवाका लागि यो विमानस्थल आकर्षक मानिएको छैन ।
हवाई रुटका विषयलाई प्राथमिकतामा राखेर भारत सरकारसँग नेपालले विभिन्न पटक सचिव, प्राविधिक स्तरमा औपचारिक र अनौपचारिक वार्ता गर्दै आएको छ । २०७५ वैशाखमा दुई देशका प्रधानमन्त्रीको काठमाडौंमा भएको भेटपछि जारी संयुक्त वक्तव्यमा हवाई रुट थप गर्ने विषय समेटिएको थियो । तर उक्त सहमतिपछि प्राविधिकहरूको बैठक बस्दा भारतले नेपाललाई हवाई रुट दिन आनाकानी गर्दै आएको नेपाल नागरिक उड्डयन प्राधिकरणमा हवाई रुटसँग सम्बन्धित एक प्राविधिकले बताए ।
‘प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच सैद्धान्तिक सहमतिपछि पहिलो पटक २०७५ असारमा भारत र नेपालका प्राविधिकहरूबीच संयुक्त बैठकमा भारतले चारवटा हवाई रुट थप्ने सम्झौता गरेको थियो,’ उक्त बैठकमा सहभागी प्राधिकरणका एक अधिकारीले भने, ‘त्यही वर्ष असोजमा दिल्लीमा भएको प्राविधिकहरूको दोस्रो बैठकमा भारतले भारतीय सैन्य (डिफेन्स) को असहमति देखाउँदै पुनः भैरहवा, महेन्द्रनगरको हवाई विन्दुबाट विदेशी वायुयान नेपाल प्रवेश गराउन दुईतर्फी रुट निर्माण गर्ने विषयबाट पछि हटेको थियो ।’
हाल नेपालमा युरोप, मध्यपूर्वी मुलुकलगायतबाट आउने विमान काठमाडौं आउन भारतीय आकाश हुँदै सिमराबाट मात्रै प्रवेश गर्नुपर्ने बाध्यता छ । अहिले काठमाडौंबाट भारतका पटना र कोलकाता जाने विमान जनकपुर तथा ढाका जाने विमान विराटनगरको आकाशबाट बाहिरिन्छन् । तर, यी हवाई मार्ग दुईतर्फी नभएकाले ती भारतीय सहरबाट आउने हवाई ट्राफिक काठमाडौं छिर्न सिमराबाट मात्रै प्रवेश पाउँछन् ।
पूर्वतर्फ दक्षिण कोरिया, मलेसिया, हङकङ, बंगलादेशबाट आउने विमान सिमरा हुँदै काठमाडौं प्रवेश गर्नुपर्ने बाध्यता छ । भुटानबाट आउने विमान तुम्लिङटारमाथिको हवाई विन्दुबाट नेपालभित्र पस्छन् । भुटानका लागि बनाइएको मेचीतर्फको हवाई विन्दु भने दुईतर्फी हो । यो रुट भुटानका हवाई कम्पनीले मात्रै प्रयोग गर्छन् । यो रुटमा चाप र व्यापार दुवै छैन । उत्तर ल्हासातर्फको रुट पनि दुईतर्फी छ । यो रुट ल्हासाबाट नेपाल आउने विमानले मात्रै प्रयोग गर्छन् । चीनका अन्य सहरबाट आउने विमान भने भारत छिरेर सिमरा हुँदै पस्नुपर्छ ।
नेपालबाट बाहिरिँदा पश्चिममा महेन्द्रनगरबाट दिल्ली, भैरहवाबाट लखनउ, जनकपुरबाट पटना र कोलकाता, विराटनगरबाट ढाका रुट मात्र प्रयोग गर्न पाइन्छ । यी सबै रुट दुईतर्फी छैनन् । नेपालले यी रुटलाई दुईतर्फी बनाउन चाहना राखे पनि भारतले स्वीकृति दिएको छैन । यदि यी रुट दुईतर्फी भए भारत हुँदै नेपाल पस्ने जहाज छोटो दूरी प्रयोग गरेर भैरहवा, पोखरा र काठमाडौं विमानस्थलमा अवतरण हुन पाउँथे । सिमरा पुगेर तितरवितर हुनु पर्दैन ।
भारतले जनकपुरबाट पटना, नेपालगन्जबाट लखनउका लागि ‘क्रसबोर्डर’ क्षेत्रीय उडानमा पनि सैद्धान्तिक सहमति जनाएको थियो । तर, यसले पनि पूर्णता पाएको छैन । बुद्ध एयरका एक अधिकारीका अनुसार, ‘क्रसबोर्डर’ उडानमा बुद्धले रुचि राखेको थियो । उसले प्रस्ताव पनि गर्यो । तर भारतले हालसम्म बुद्धको प्रस्तावलाई सदर नगरेको ती अधिकारीले बताए ।
परराष्ट्रमन्त्री राणाले प्रस्ताव गरेको रुट प्राप्त गरे नेपालले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने बताइन् । ‘मैले राखेको प्रस्तावमा प्राविधिक टोली पठाएर अध्ययन गर्ने भनेर भारतीय पक्षबाट सकारात्मक कुराकानी भएका छन्,’ राणाले भनिन्, ‘उहाँहरूको सकारात्मक प्रतिक्रिया छ । आशा छ, त्यो पक्कै अगाडि बढ्छ ।’ प्रस्तावित दुईवटा प्रवेश विन्दुमा भारत सरकारले अनुमति दिएमा पोखरा र लुम्बिनीबाट समेत अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीहरू आकर्षित हुने बुझाइ परराष्ट्रमन्त्रीको छ । पर्यटनको विकासका लागि समेत भारतीय पक्षसँग आफूले कुराकानी गरेको उनले बताइन् ।
भ्रमणकै क्रममा पञ्चेश्वर बहुउद्देश्य परियोजनाको कुरा पनि प्रमुखताका साथ उठाएको उनको भनाइ छ । ‘यो परियोजना शेरबहादुर देउवा र केपी शर्मा ओलीजी हुँदै सुरु भएको विषय हो । महाकाली नदीको प्रयोग गरेर हामी दुवै कसरी समृद्ध बन्ने भन्ने त्यो आयोजनाको मूल मर्म हो । यसमा दुई पक्ष नै एकदम नजिक सहमतिमा पुगेका छौं,’ राणाले थपिन्, ‘दुई ठूला दलहरू भएको बेलामा यो विषयलाई पनि समाधान गरेर अघि बढौं भनेर कुरा राख्दा प्रधानमन्त्री मोदीजी र विदेशमन्त्री जयशंकरजी दुवै सकारात्मक हुनुहुन्छ ।’
राणाको भारत भ्रमणकै क्रममा भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत् खरिदका लागि स्वीकृत दिएको थियो । राणाको भ्रमणलाई लिएर प्रधानमन्त्री मोदी र विदेशमन्त्री जयशंकर दुवैले सामाजिक सञ्जालमा महत्त्व दिएर लेखेका थिए । तर, हवाई रुटको सन्दर्भमा कुराकानी भएको विषयमा भने दुवैले उल्लेख गरेका छैनन् । मोदीले सामाजिक सञ्जालमा परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै भारत र नेपालबीच रहेको बहुपक्षीय साझेदारीका विषयमा छलफल भएको र यसलाई निरन्तर गति कायम राख्न आफू उत्साही भएको उल्लेख गरेका थिए । विदेशमन्त्री जयशंकरले ऊर्जा, व्यापार, यातायात र पूर्वाधार विकासलगायत विषयमा बहुआयामिक सहकार्यबारे कुराकानी भएको उल्लेख गरेका थिए ।

